सहिदको सपना र आजको निर्वाचन : सही उम्मेदवार छनोट अपरिहार्य – बिसाल राज महत

Image

हेटौंडा/ सामाजिक अभियन्ता तथा सेवा, सहयोग र आवाजमा हामी संस्थाका अध्यक्ष बिसाल राज महतले जेन्जी आन्दोलनका सहिदहरूको बलिदान सम्झँदै आजको राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत लेख्दै भनेका छन्, “जेन्जी आन्दोलनमा सहिद भएका ती कलिला युवाहरू यदि कतै कुनै लोकमा छन् भने, आज आफ्नो बलिदानको अर्थ खोज्दै होलान्।”

उनका अनुसार उक्त आन्दोलन केवल सरकार परिवर्तन, चुनाव वा केही व्यक्तिहरूको शक्ति–सत्ताको भागबण्डाका लागि सीमित थिएन। अनियमितता, भ्रष्टाचार र बेथितिको अन्त्य गर्दै सुशासन र समृद्धिको सपना बोकेको ऐतिहासिक आन्दोलन थियो त्यो।

महतले जनाएअनुसार आन्दोलनका क्रममा प्रत्यक्ष कार्यकारी व्यवस्था, भ्रष्टाचारीमाथि कठोर कारबाही तथा सांसद मन्त्री नहुने व्यवस्था जस्ता मागहरू संविधान संशोधनमार्फत सुनिश्चित गरिनुपर्ने विषय व्यापक रूपमा उठेको थियो। तर समयक्रममा ती एजेन्डाहरू ओझेलमा परे र जनताको अपेक्षा पूरा हुन नसकेको उनको भनाइ छ।

हाल देश फेरि निर्वाचनमय बनेको उल्लेख गर्दै उनले ठाउँठाउँमा झन्डा फहराइरहेका, नाराहरू गुञ्जिरहेका र राजनीतिक गतिविधि तीव्र बनेको बताएका छन्। यस्तो अवस्थामा आम नागरिकको मुख्य चिन्ता भनेको निर्वाचन परिणाममुखी होस् र जनतालाई केवल शक्ति र सत्ताको साधनका रूपमा प्रयोग गर्ने परम्पराको अन्त्य होस् भन्ने रहेको उनले उल्लेख गरेका छन्।

अन्त्यमा, महतले सहिदहरूको बलिदानको मर्म बुझ्ने, जनताको आवाज सुन्ने र राष्ट्रप्रति इमानदार उम्मेदवारको छनोट गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्। साथै, सचेत मतदाता नै समृद्ध राष्ट्र निर्माणको आधार हो भन्ने कुरा आज अझ स्पष्ट रूपमा बुझ्न आवश्यक रहेको उनको भनाइ छ।