हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १० को आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला २०८२ माघ १६ र १७ गते आयोजना हुने भएको छ।
मेला हेटौंडा–१० स्थित बसपार्क परिसरमा सञ्चालन हुने वडा अध्यक्ष फुर्वा दोर्जे तामाङले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो। “आन्तरिक उत्पादन बढाऔँ, उद्यमशीलता प्रवर्द्धन गरौँ” भन्ने मूल नारासहित आयोजना हुन लागेको मेलामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाबाट सहभागिता रहने आयोजकले जनाएको छ।
वडा कार्यालयका अनुसार राजनीतिक दल, टोल विकास संस्था, उद्योग वाणिज्य संघ मकवानपुर, सामुदायिक वन उपभोक्ता समूह, महिला उद्यमी केन्द्र, विभिन्न क्लब, आमा समूह, सामुदायिक तथा संस्थागत विद्यालयलगायत संघसंस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिँदैछ।
मेलाको मुख्य उद्देश्य स्थानीय स्तरमा उत्पादन भएका वस्तुको प्रवर्द्धन, बजारीकरण तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउनु रहेको छ। मेलामा कम्तीमा १०० वटा स्टल रहनेछन् भने घरेलु उत्पादक तथा व्यवसायीहरूलाई सहभागिताका लागि यातायात सुविधा समेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रदर्शनीमा स्थानीय किसान तथा उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनी तथा बिक्री वितरण हुनेछ। साथै, स्थानीय संस्कृति झल्किने नृत्य प्रतियोगिता, खाना महोत्सव, पर्यटन प्रवर्द्धन र विद्यालयस्तरीय शैक्षिक प्रदर्शनी पनि गरिनेछ।
नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३५ हजार, तृतीयलाई २० हजार रुपैयाँ तथा चार जनालाई जनही ५ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिनेछ।
मेलाको अवसरमा ज्येष्ठ नागरिक, राष्ट्रिय खेलाडी, अटोमेकानिक, विभिन्न क्षेत्रमा उद्यमशीलता विकास गरेका गृहिणी, कृषि तथा पशुपालनमा संलग्न उद्यमी तथा योग तालिमबाट सक्षम बनेका व्यक्तिहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ।
यसैगरी, वडा भित्र स्थायी बसोबास भएका सामुदायिक विद्यालयका SEE तथा +2 मा GPA 3.25 वा सोभन्दा माथि ल्याउने विद्यार्थी र संस्थागत विद्यालयका SEE मा GPA 3.25 तथा +2 मा GPA 3.65 वा सोभन्दा माथि ल्याउने विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।
कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न मूल आयोजक समिति तथा ६ वटा उपसमिति गठन गरी तयारी तीव्र पारिएको वडा कार्यालयले जनाएको छ।

















