बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान बिहानै देखि सुरु

Image

हेटौंडा/ बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान आज बिहानदेखि सुरु भएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि मतदान भइरहेको छ भने मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा महिलातर्फ १ र अन्यतर्फ १ गरी दुई पदका लागि मतदान भइरहेको हो। ‘क’ मतदान केन्द्रमा बागमती प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ भने ‘ख’ मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।

सहायक निर्वाचन अधिकृत केशव कौशिकका अनुसार दुवै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ८–८ जना गरी कुल १६ जना कर्मचारी खटाइएको छ।

बागमती प्रदेशसभाका कुल ११० सदस्यमध्ये हाल १०४ जना कायम छन्। ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका छन्। यस्तै, स्थानीय तहतर्फ ३ जना पालिका प्रमुखले राजीनामा दिएका कारण मतदाता संख्या घटेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो।

राजीनामा दिने स्थानीय तहका प्रमुखहरूमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र धुलिखेल नगरपालिकाका प्रमुख अशोक बेन्जु रहेका छन्।

प्रदेशसभातर्फ नेकपा एमालेका अमन मास्के र प्रकाश श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल र बसन्तप्रसाद मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसी तथा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले राजीनामा दिएका छन्।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखतर्फ ११९ पालिकाका २३८ जनामध्ये नागार्जुन नगरपालिकाका मेयर निलम्बनमा रहेका र ३ जनाले राजीनामा दिएका कारण हाल २३४ जना मतदाता कायम रहेका छन्।

प्रदेशसभातर्फ ५३ मतभारसहित ५ हजार ५ सय १२ र स्थानीय तहतर्फ १९ मतभारसहित ४ हजार ४ सय ४६ गरी कुल ९ हजार ९ सय ५८ मतभार कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनमा महिलातर्फ १ पदका लागि ३ जना र अन्यतर्फ १ पदका लागि ३ जना गरी कुल ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन र विक्रम ढुकुक्षेँ, एमाले–कांग्रेस गठबन्धनबाट एमालेका प्रेमप्रसाद दगाल र नेपाली कांग्रेसकी गीता देवकोटा तथा नेकपाबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झा उम्मेदवार रहेका छन्।

हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका गंगाकुमारी बेलवासे र बेदुराम भुसालको पदावधि आगामी फागुन महिनामा सकिँदैछ।