कैलाश गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा सदिक्षा गुरुङ प्रथम

Image

हेटौंडा\ मकवानपुरको कैलाश गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय मावि वक्तृत्वकला प्रतियोगितामा कमलादेवी माध्यमिक विद्यालयकी सदिक्षा गुरुङ प्रथम भएकी छन्।
सोमबार सम्पन्न प्रतियोगितामा उनले “सामाजिक सञ्जाल : अवसर कि चुनौती” विषयमा धारणा प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेकी हुन्। उनले नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकी छन्।

त्यस्तै, सोही विद्यालयका अभिषेक सारु मगर द्वितीय भएका छन्। उनले नगद ७ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। कालिका माध्यमिक विद्यालयका कृष मोक्तान तृतीय भएका छन्। उनले नगद ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा जम्मा ९ जना विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रम गाउँपालिका अध्यक्ष एवं गाउँ शिक्षा समितिका संयोजक लोकबहादुर मुक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, सामाजिक विकास संयोजक तथा वडा नं. २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूमा व्यक्तित्व विकास, नेतृत्व क्षमता र वाक्–कौशल अभिवृद्धि हुने बताए। विषयवस्तु समय सान्दर्भिक भएकाले सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगबारे चेतना बढ्ने उनले उल्लेख गरे। गुगल र च्याटजिपिटीमा अत्यधिक निर्भर हुँदा सिर्जनात्मक क्षमतामा कमी आउन सक्ने भन्दै उनले विद्यार्थीलाई रचनात्मक ढंगले अध्ययन गर्न प्रेरित गरे।

उनले सामाजिक सञ्जालको दुरुपयोगका कारण मानव बेचबिखन, दुर्व्यवहार, हिंसा जस्ता घटना बढिरहेको उल्लेख गर्दै सबैलाई सचेत रहन आग्रह गरे।

उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले यस्ता कार्यक्रमले विद्यार्थीहरूको तार्किक र बौद्धिक क्षमतामा वृद्धि हुने बताए। सामाजिक सञ्जालको सदुपयोगले विकास सम्भव हुने र दुरुपयोगले विनाश निम्त्याउन सक्ने उनको भनाइ थियो।