हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पछिल्लो समय युवावर्गमा लागुपदार्थ सेवनको समस्या गम्भीर बन्दै गएको बताएका छन्। सोमबार कैलाश गाउँपालिका–९ स्थित कालिका माध्यमिक विद्यालयमा आयोजित लागुऔषध दुव्र्यसनविरुद्धको सचेतनामूलक कार्यक्रममा सम्बोधन गर्दै उनले युवाहरूमा लागुपदार्थ प्रयोगको दर तीव्र रूपमा बढिरहेको उल्लेख गरे।
अध्यक्ष मुक्तानका अनुसार गाँजाभन्दा पनि अफिमबाट उत्पादित ब्राउन सुगर प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको छ, जुन चिन्ताजनक विषय हो। उनले लागुपदार्थ सेवनले स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै कानुनी झन्झट र जीवनशैलीमा समेत नकारात्मक प्रभाव पर्ने बताए। चुरोट तथा खैनीबाट सुरु हुने कुलत क्रमशः गाँजा हुँदै ब्राउन सुगरसम्म पुग्ने खतरा रहेको उनको भनाइ थियो।
पछिल्लो समय किशोर मात्र होइन, किशोरीहरू पनि लागुपदार्थ प्रयोगकर्ताको रूपमा बढ्दै गइरहेको अवस्थामा रहेको भन्दै उनले अभिभावक, विद्यालय र समुदाय सबै सचेत हुनुपर्नेमा जोड दिए। साथै, गाँजा र अफिम खेतीको विकल्पका रूपमा तरकारी तथा अन्य वैकल्पिक बाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए।
गाउँपालिकाले लागुपदार्थ प्रयोग न्यूनिकरणका लागि बालबालिका, विद्यार्थी र अभिभावक लक्षित विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष मुक्तानले जानकारी दिए। “सकारात्मक सोच गरौँ, कुलतमा नफसौँ” भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए।
उक्त कार्यक्रम गाउँपालिकाको आर्थिक सहयोग तथा मकवानपुर रिकभरिङ समूहको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम समूहका प्रबन्धक निर्देशक संदीप शाक्यको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेती, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
मकवानपुर रिकभरिङ समूहले कैलाश गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। सोमबार नै कैलाश–१० स्थित रत्न ज्योति माध्यमिक विद्यालयमा पनि कार्यक्रम सम्पन्न गरिएको थियो।

















