बागमतीका बिकट बस्ती देउजर र गढनसिरमा पहिलोपटक बल्यो बिजुली

Image

हेटौंडा/ बागमती (मकवानपुर) साँझ पर्नासाथ अँध्यारोले ढाकिने पूर्वी मकवानपुरको बागमती गाउँपालिका–३ अन्तर्गतका देउजर र गढनसिर बस्तीमा मंगलबारदेखि उज्यालो फैलिएको छ। यी दुर्गम बस्तीमा पहिलोपटक विद्युत् सेवा पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ।

झुपडीभित्र टुकीको मधुरो उज्यालोमा जीवन बिताउँदै आएका यहाँका बासिन्दा अब बल्बको तेज प्रकाशमा रमाइरहेका छन्। मोबाइल चार्ज गर्न घण्टौँ हिँड्नुपर्ने बाध्यता हटेको छ भने विद्यार्थीहरू उज्यालो कोठामा पढ्न पाउँदा उत्साहित छन्।

गाउँपालिका अध्यक्ष सर्केश घलानले ट्रान्सफर्मर जडान गरिएको पोलमा रिवन काटेर विद्युत् सेवा शुभारम्भ गरे। कार्यक्रममा उनले भने, “बिकट र विपन्न समुदायलाई केन्द्रमा राखेर योजना बनाउँदा परिणाम ढिलो देखिए पनि दिगो हुन्छ। आज बलेको बत्तीले यहाँका बालबालिकाको भविष्य उज्यालो बनाओस् भन्ने हाम्रो चाहना हो।”

यस क्षेत्रमा तामाङ समुदायको बसोबास छ। ऐतिहासिक रूपमा औलोको त्रासका कारण बि.सं. १९९८ तिर समथर भूभाग छाडेर पहाडी भूभागमा बसाइँ सरेका उनीहरू आठ दशक बितिसक्दा पनि आधारभूत सेवाबाट वञ्चित थिए। केही समयअघि मात्र सडक पुगेको यस क्षेत्रमा वर्षायाममा अझै आवतजावत कठिन हुने गरेको छ।

गाउँपालिका कार्यालय झुरझुरेबाट करिब १७ किलोमिटर दक्षिणमा पर्ने तथा रौतहटको चन्द्रनिगाहपुरसँग जोडिएको यस क्षेत्रमा विद्युत् विस्तार गर्ने लक्ष्य गत वर्षकै भए पनि खोल्सा, भीर र अप्ठ्यारो भूगोलका कारण ढिलाइ भएको थियो। यस वर्ष भने स्थानीयको श्रमदान, गाउँपालिकाको लगानी र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा योजना सफल भएको हो।

देउजरका ६२ घर र गढनसिरका १७ घरमा विद्युत् लाइन विस्तार गरिएको छ। प्राधिकरणले पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराएको छ भने आवश्यक संरचना गाउँपालिकाले व्यवस्थापन गरेको हो। पोल बोक्दै उकालो–ओरालो गर्न स्थानीय स्वयं अग्रसर बनेका थिए।
स्थानीय दिलबहादुर पाख्रिन भन्छन्, “पहिले गाउँ छोड्नुपर्छ जस्तो लाग्थ्यो। अब बिजुली आयो, सडक आयो, गाउँमै भविष्य देख्न थालेका छौँ।”

यसअघि बिकट भूगोल र थोरै जनसंख्याका कारण यी बस्ती विकासको प्राथमिकतामा पर्न सकेका थिएनन्। यहाँका धेरै युवा रोजगारीका लागि बाहिरिएका छन्।

वडा नं. ३ का अध्यक्ष कमानसिं पाख्रिनका अनुसार बागमती–३ ऐतिहासिक, प्राकृतिक र जैविक दृष्टिले कृषि तथा पर्यटनका लागि उपयुक्त क्षेत्र हो। “गिताराजा–गितारानी र बनठाकुर राजा–रानीसँग जोडिएको इतिहास बोकेको यस क्षेत्रलाई चन्द्रनिगाहपुरसँग राम्रो सडक सञ्जालले जोड्न सके कृषि उत्पादन र पर्यटनको केन्द्र बन्न सक्छ,” उनले बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले विद्युत् विस्तारले शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।