बारा रहरियाडीमा आमा–छोराको निर्मम हत्या : बुहारी पक्राउ, अनुसन्धान तीव्र

Image

हेटौंडा/ बारा जिल्लाको परवानीपुर गाउँपालिका–१, रहरियाडीमा भएको दोहोरो हत्यापछि स्थानीय क्षेत्रमा गहिरो त्रास फैलिएको छ। एकै परिवारका आमा र छोराको निर्मम हत्या भएपछि गाउँको शान्त वातावरण आतंकित बनेको हो।

बुधबार बिहान करिब ३ बजे अज्ञात व्यक्तिहरू घरभित्र प्रवेश गरी सुतिरहेको परिवारमाथि धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आक्रमणमा ५२ वर्षीय जगरूप मण्डल र २२ वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

घटनाको अनुसन्धानका क्रममा मृतक रामेश्वरकी श्रीमती २५ वर्षीया मनिता देवी मण्डललाई संलग्नताको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएपछि मनितालाई पक्राउ गरी सोधपुछ भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले घटनाको सबै पक्षलाई मध्यनजर गर्दै सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार हत्याको स्पष्ट कारण र अन्य संलग्न व्यक्तिको पहिचान खुल्न बाँकी छ।
घटनापछि रहरियाडी क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिँदै तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी दोषीको खोजी कार्य तीव्र पारेको जनाएको छ।
स्थानीयवासीहरूले दोषीलाई शीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।