बुद्धचोक–पिपलबोटमा यात्रु तानातान, दुर्घटनाको जोखिम बढ्दै: समाजिक अभियान्ता बिशाल राज महत

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिका क्षेत्र अन्तर्गत बुद्धचोकदेखि पिपलबोट हनुमान मन्दिरसम्म अटो, मयुरी र मोटरसाइकलमार्फत यात्रु तानातान गर्ने प्रवृत्ति बढ्दै जाँदा अव्यवस्था र दुर्घटनाको जोखिम बढेको भन्दै सेवा सहयोग हामीका अध्यक्ष बिसाल राज महतले आफ्नो फेसबुक मार्फत चिन्ता व्यक्त गरेका छन्।

सेवा सहयोग हामीका अध्यक्ष विशाल राज महत तथा सामाजिक अभियन्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत यस विषयमा ध्यानाकर्षण गराउँदै उक्त क्षेत्रमा देखिएको अवस्था असभ्य र अव्यवस्थित बन्दै गएको बताएका छन्। उनीहरूले हेटौंडा–काठमाडौँ लक्षित सवारीका लागि युवाहरूले यात्रु तान्ने क्रममा धकेलाधकेल, करकाप र जोखिमपूर्ण व्यवहार देखिन थालेको उल्लेख गरेका छन्।

“सबैलाई रोजगारी चाहिन्छ, त्यो स्वाभाविक हो। तर संयम, सभ्यता र जोखिमरहित तरिकाले काम गर्नु सबैको दायित्व हो,” अभियन्ताले उल्लेख गरेका छन्।

उक्त क्षेत्रमा नजिकै ट्राफिक प्रहरीको उपस्थिति हुँदाहुँदै पनि अवस्था नियन्त्रणबाहिर देखिनु झनै चिन्ताजनक भएको गुनासोसमेत आएको छ।
अभियन्ताले जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा हेटौंडा उपमहानगरपालिकालाई सम्बोधन गर्दै, “यो अव्यवस्था कसले र कहिले रोक्ने? दुर्घटना भएपछि मात्र चेत खुल्ने हो कि अहिल्यै जिम्मेवारी लिने?” भन्ने प्रश्न उठाएका छन्।

स्थानीय बासिन्दा तथा यात्रुले पनि सुरक्षित र व्यवस्थित यातायात व्यवस्थापनको माग गर्दै सम्बन्धित निकायको तत्काल पहल आवश्यक रहेको बताएका छन्।