खेलमार्फत शिक्षक–कर्मचारीबीच एकता बढाउने हेटौँडा १८ को पहल

Image

हेटौँडा / सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच सहकार्य, आत्मविश्वास र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित हेटौँडामा नगरस्तरीय महिला तथा शिक्षक कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौँडाको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १६ र १७ गते दुई दिनसम्म सञ्चालन हुनेछ। गत वर्ष सफल रूपमा सम्पन्न भएको कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष दोस्रो संस्करण आयोजना गर्न लागिएको हो।

प्रतियोगिता संयोजक बालकुमार श्रेष्ठले पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा हेटौँडा नगर क्षेत्रभित्रका २० सामुदायिक विद्यालयका टिमहरूको सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिता हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ।

प्रतिस्पर्धात्मक खेलमार्फत उत्साह थप्न उत्कृष्ट टिमहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रथम हुने टिमले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना स्थान हासिल गर्ने टिमले ५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको उद्घाटन हेटौँडा–१८ का वडाध्यक्ष अनिल बानियाँले गर्नुहुनेछ। उद्घाटन खेल सिद्धार्थ माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालयबीच हुने तय गरिएको छ।

नगर स्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइँटेलले यस्ता प्रतियोगिताले महिलाको सहभागिता बढाउनुका साथै सामुदायिक विद्यालयबीच आपसी सम्बन्ध मजबुत बनाउने र शैक्षिक वातावरणमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगितामा सिद्धार्थ, प्रगति, भृकुटी, आधुनिक, भुटनदेवी, त्रिभुवन, ज्योति, अरनिको, गोरखनाथ, श्रमिक, बाल ज्योति, बालबोध, चन्द्रोदय, जनप्रिय, राजदेवी, दीपज्योति, कृष्ण, बुद्ध, नवज्योति र निर्मल माध्यमिक विद्यालयको सहभागिता रहनेछ।