संघर्ष, अनुभव र सादगीका प्रतीक रामेश्वर राना मकवानपुर क्षेत्र नं. १ बाट एमालेको उम्मेदवार

Image

हेटौंडा / नेकपा एमाले मकवानपुर जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका रामेश्वर रानाको राजनीतिक जीवन संघर्ष, अनुभव र सादगीले भरिएको देखिन्छ। लामो समयदेखि पार्टी संगठन निर्माणमा सक्रिय राना मकवानपुरमा एक भरोसायोग्य र कर्मठ नेताका रूपमा परिचित छन्।

वि.सं. २०१९ साल चैत २३ गते मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं. ११, नवलपुरमा जन्मिएका राना स्वर्गीय जमान बहादुर राना र राम माया रानाका माहिला छोरा हुन्। सामान्य किसान परिवारमा हुर्किएका उनी एक दाइ, एक भाइ र एक बहिनीसहित पारिवारिक जिम्मेवारीका बीच जीवन अघि बढाए।

आर्थिक अवस्थाका कारण आई.कम. सम्म मात्र अध्ययन गर्न सके पनि २०३६ सालको जनआन्दोलनबाट प्रभावित भई उनको राजनीतिक चेतनाको विकास भयो।

२०३७ सालमा त्रिभुवन माध्यमिक विद्यालय, हेटौंडा–११ मा अनेरास्ववियुको प्रारम्भिक कमिटीमार्फत संगठित राजनीति सुरु गरेका राना २०३८ सालमा अनेरास्ववियु जिल्ला कमिटीको अध्यक्ष हुँदै २०४२ सालमा केन्द्रीय सदस्य बने। त्यसपछि पार्टीको शाखा कमिटी, नगर कमिटी, जिल्ला कमिटी हुँदै निरन्तर जिम्मेवारी सम्हाल्दै आएका उनी २०५१ सालमा नेकपा एमाले मकवानपुरको सचिव बने।

तीन कार्यकालसम्म जिल्ला नेतृत्व सम्हालेका रानाले पार्टी संगठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका छन्। बागमती प्रदेश कमिटी सदस्य हुँदै उनी चार कार्यकालसम्म नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा रहे। हालै सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भई हाल केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्जको रूपमा सक्रिय छन्।

राजनीतिक जीवनसँगै रानाको सार्वजनिक सेवा यात्रामा पनि उल्लेखनीय भूमिका देखिन्छ। २०४९ सालमा हेटौंडा नगरपालिका वडा नं. ११ का वडा अध्यक्षमा निर्वाचित भएका उनी २०५४ सालमा जिल्ला विकास समिति मकवानपुरका सभापति बने। सभापति रहँदा उनले चुरे संरक्षणको अवधारणा अघि सारे, सडक सञ्जाल विस्तारमा पहल गरे र मकवानपुरको एकीकृत विकासका लागि दीर्घकालीन गुरुयोजना प्रस्तुत गरे। उनका यी प्रयासहरू आज पनि जनस्तरमा सकारात्मक रूपमा स्मरण गरिन्छ।

२०६४ सालको संविधानसभा निर्वाचनमा पराजय व्यहोरे पनि उनी राजनीतिबाट विचलित भएनन्। पटक–पटक उम्मेदवारका रूपमा सिफारिस भए तापनि राजनीतिक परिस्थितिका कारण चुनाव लड्ने अवसर नपाएका रानाले पार्टी जिम्मेवारीमा भने निरन्तरता दिँदै राजनीतिक निष्ठा र अनुशासनको परिचय दिएका छन्।

चीन, भारत, बंगलादेश लगायतका मुलुकहरूको भ्रमण गरी विकासका मोडेल, पूर्वाधार निर्माण र स्थानीय शासन प्रणालीबारे अध्ययन गरेका रानाको दृष्टिकोण व्यवहारिक र दीर्घकालीन रहेको बताइन्छ।

सादगी जीवनशैली, स्पष्ट विचार र इमान्दार छविका कारण रामेश्वर राना मकवानपुरमा मात्र होइन, पार्टीभित्र पनि सम्मानित नेताका रूपमा चिनिन्छन्। उनको उम्मेदवारीले पार्टी कार्यकर्ता मात्र नभई आम नागरिकमा समेत सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयहरू बताउँछन्।

लामो संगठनात्मक अनुभव, जननिर्वाचित भएर काम गरेको इतिहास र निरन्तर संघर्षका आधारमा राना मकवानपुरको समावेशी राजनीति, समावेशी विकास र स्थायित्वका लागि प्रतिबद्ध नेताका रूपमा परिचित छन्।