मकवानपुर–१ मा विजय गौतमको चुनावी अभियान तीव्र

Image

हेटौंडा / प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमको चुनावी अभियान तीव्र बन्दै गएको छ। बागमती गाउँपालिकाका तीन वडामा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रचार–प्रसार कार्यालय उद्घाटनसँगै अभियानलाई थप गति मिलेको हो।

बागमती गाउँपालिका वडा नं. ७ (पाथिभरा), वडा नं. ५ (ज्यामिरे) र वडा नं. ४ (झुरझुरे) मा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू प्रेमबहादुर पुलामी (छिन्तु), सर्केस घलान, ध्रुव भुजेल, यादव गजुरेल सहित प्रदेशस्तरीय नेताहरू कमान सिंह पाख्रिन, ग्यान सागर लामा, अरुण बल, माधव तिमल्सिना लगायतको उपस्थिति थियो।

नेताहरूले मतदातामाझ भइरहेको जनसमर्थनका आधारमा गौतमलाई मकवानपुर–१ मा जित दिलाउन सकिने दाबी गरे। बढ्दो जनभागीदारीले अभियान सशक्त बन्दै गएको उनीहरूको भनाइ छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विजय गौतमले आफू इमान, निष्ठा र जिम्मेवारीसहित जनतामाझ उभिएको बताए। उनले जनताको बीचमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्दै अहिले चुनावी अभियानमार्फत घर–घरमा पुगिरहेको बताए।

देशमा आवश्यक परिवर्तनका लागि नेतृत्वमा पुस्तान्तरण अपरिहार्य भएको उनको भनाइ थियो। विशेषगरी युवा पुस्ता र Gen Z ले नयाँ सोच र नयाँ नेतृत्व खोजिरहेको उल्लेख गर्दै उनले आफू परिवर्तनको एजेन्डासहित अघि बढेको बताए। मकवानपुर–१ का मतदाताले सक्षम, जुझारु र सक्रिय युवा नेतृत्वलाई साथ दिने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले गौतमलाई सर्वाधिक मतका साथ विजयी गराउन सबै तह–तप्काका कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन्।