हेटौंडा/ मकवानपुर जिल्लाका ४ हजार ४ सय ३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप उपलब्ध गराइने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सुरु हुन लागेको यो अभियानलाई मकवानपुरले पहिलोपटक जिल्लाभरि समन्वित ढंगले अघि बढाउन लागेको हो।
जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत १० वर्ष उमेर समूहका सबै किशोरी अभियानको प्राथमिक लक्ष्य समूह हुन्। उनका भनाइमा, “पाठेघरको मुखको क्यान्सर रोकथाममा एचपीभी खोप अत्यन्त प्रभावकारी भएकाले विद्यालयमै पुगेर खोप सेवा पुर्याउन लागिएको हो।”
खोप कार्यक्राम माघ २५ गतेदेखि फागुन १ गतेसम्म विद्यालय केन्द्रित रूपमा सञ्चालन हुनेछ। यस चरणमा विद्यालयमा भर्ना भएका सबै किशोरीलाई खोप दिइनेछ। विद्यालयमा पढिरहेका किशोरी छुट्न नदिन स्वास्थ्यकर्मी विद्यालयहरूमै पुग्ने जनाइएको छ।
छुटेकालाई लक्ष्य गरेर फागुन २२ गतेसम्म दोस्रो चरणमा नियमित खोप सेवा मार्फत अभियान निरन्तर गरिने जनाइएको छ। यसरी दुई चरणमा अभियान तय गर्नाले अधिकतम विद्यार्थीलाई समेट्न सहज हुने स्वास्थ्य कार्यालयको योजना छ।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा देखिने घातक क्यान्सरमध्ये एक मानिन्छ। यसलाई समयमै रोकथाम गर्न सकिने भएकाले एचपीभी खोपलाई सरकारले राष्ट्रिय खोप कार्यक्रममै समेटेको छ।

















