हेटौंडा/ रेडियो मकवानपुरले आयोजना गरेको छैठौँ मिडिया कप फुटसल प्रतियोगिताको उपाधि टिम टेलिभिजनले हात पारेको छ। मंगलबार भएको फाइनल खेलमा टिम टेलिभिजनले नेपाल पत्रकार महासंघ मकवानपुरलाई ५–३ गोलले पराजित गर्दै विजेता बनेको हो।
निर्धारित समयमा दुवै टोलीले २–२ गोल गर्दै खेल बराबरीमा पुगेपछि थपिएको अतिरिक्त समयमा टिम टेलिभिजनले निर्णायक गोल गरेको थियो। टिमको जीतमा मनिष खड्काले चार गोल र विश्वास विश्वकर्माले एक गोल योगदान गरेका थिए। उता पत्रकार महासंघतर्फबाट रविन्द्र वाइबाले दुई र सञ्जिव रसाइलीले एक गोल गरेका थिए।
प्रतियोगितामा टिम टिभीसहित नेपाल पत्रकार महासंघ मकवानपुर, रेडियो मकवानपुर, रेडियो थाहा सञ्चार, हेटौंडा एफएम, बागमती एक्सप्रेस, नेपाल प्रेस यूनियन मकवानपुर र नेपाल खेलकुद पत्रकार मञ्चका टिमहरूको सहभागिता रहेको थियो।
विजेता तथा उपविजेतालाई यही माघ २२ गते सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा पुरस्कृत गरिने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए।
रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रमका विभिन्न अतिथिहरूले रेडियो मकवानपुरले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष खेलकुदमार्फत पत्रकारबीच मैत्रीपूर्ण सम्बन्ध वृद्धि गर्दै आएको उल्लेख गरेका थिए।
खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष राजन दाहालले प्रतियोगिता निरन्तरताले पत्रकारमा मनोरञ्जनसँगै खेलकुदप्रतिको रुचि र विकासमा सहयोग पुगेको बताए। कार्यक्रममा हेटौंडा–६ का वडा सदस्य विजय पौडेल, प्रेस यूनियन मकवानपुर अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष एमपी शर्मा लगायतको उपस्थिति रहेको थियो।
रेडियो मकवानपुरको १६औँ वार्षिकोत्सव तथा सञ्चालक संस्था दिव्यतारा बहुद्देश्यीय सहकारीको २८औँ स्थापना दिवसका अवसरमा माघ १६ गतेदेखि विविध सप्ताहव्यापी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। कार्यक्रमको समापन यही माघ २२ गते हेटौंडा–१ स्थित हिमालयन दरबारमा हुनेछ।

















