देशभर एकैसाथ सञ्चालन हुने प्याव्सनको एसईई पूर्वतयारी परीक्षा माघ २२ देखि सुरु

Image

हेटौंडा/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) ले देशभर एकैसाथ सञ्चालन गर्ने एसईई पूर्वतयारी परीक्षा माघ २२ गतेबाट सुरु हुने भएको छ। परीक्षा विहान ७ बजेबाट एकसाथ सञ्चालन हुने प्याव्सनले जनाएको छ।

प्याव्सनअन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि मकवानपुर जिल्लामा कुल १० वटा परीक्षा केन्द्र तोकिएको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभएको छ। निर्धारण गरिएका केन्द्रहरूमध्ये हेटौंडा उपमहानगरपालिकामा ६ वटा, थाहा नगरपालिकामा २ वटा तथा मनहरी गाउँपालिकामा २ वटा रहेका छन्। यी केन्द्रमार्फत कुल १ हजार ४ सय ६३ जना विद्यार्थी परीक्षा दिनेछन्।

यसअघि माघ १४ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी रहे पनि मिति परिमार्जन गरी माघ २२ गतेबाट सुरु गर्ने निर्णय गरिएको हो। परीक्षा माघ २९ गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिन माघ २२ गते अङ्ग्रेजी, माघ २३ गते नेपाली, माघ २५ गते गणित, माघ २६ गते विज्ञान, माघ २७ गते सामाजिक शिक्षा, माघ २८ गते ऐच्छिक प्रथम र अन्तिम दिन माघ २९ गते ऐच्छिक दोस्रो विषयको परीक्षा गराइने प्याव्सनले जनाएको छ।