हेटौंडा / प्रतिनिधि सभा निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै सेवा, सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले जनमतको सम्मान गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विचार व्यक्त गर्दै महतले भने, लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया हुन् र यसलाई व्यक्तिगत दृष्टिले मात्र हेरिनु हुँदैन। उनका अनुसार, चुनाव परिणाम देश र जनताको सामूहिक निर्णयको प्रतिबिम्ब हो।
उनले यसपटकको निर्वाचनमा केही अप्रत्याशित परिणाम देखिएको उल्लेख गर्दै भने, “जनताले प्रतीक चिन्ह चिने पनि उम्मेदवारलाई सबैले चिन्न नसकेको देखिन्छ। यसले परिवर्तनको चाहना भएपनि पुराना नेताहरू विजयी भएका र केही परिचित व्यक्तित्वहरू हार्न पुगेको देखाउँछ।”
महतले हारको अर्थ सामाजिक मूल्य, योगदान वा इमानदारी घटाउने होइन भन्ने पनि स्पष्ट पारेका छन्। उनले हार्ने उम्मेदवारहरूलाई निराश नहुन र आफ्नो समाजसेवा जारी राख्न प्रोत्साहित गरे।
उनी साथै आशा व्यक्त गर्छन् कि निर्वाचित जनप्रतिनिधिहरूले जनतासँग गरेका वाचा पूरा गरून्, र भविष्यमा जनता निराशाको सामना नगरून्।

















