हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स आवश्यक प्रशासनिक अनुमति नपाउँदा लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन। बिरामीलाई समयमै अस्पताल पुर्याउन अत्यावश्यक साधन भए पनि फाइल सम्बन्धित निकायको टेबलमै थन्किँदा सेवा प्रभावित भएको स्थानीयले बताएका छन्।
स्थानीयबासिन्दाका अनुसार, एम्बुलेन्स सञ्चालनका लागि आवश्यक कागजी प्रक्रिया जनस्वास्थ्य कार्यालयसम्म पुगेको भए पनि अन्तिम स्वीकृति महिनौँदेखि नआएको कारण एम्बुलेन्स प्रयोगविहीन भएको छ। यसले बिरामीको स्वास्थ्य सेवामा समस्या सिर्जना गरेको छ।
सामाजिक अभियन्ता तथा सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महतले फेसबुकमार्फत ध्यानाकर्षण गराउँदै एम्बुलेन्स सञ्चालनमा ढिला हुनुको कारण र समाधानको माग उठाएका छन्। उनले भने, “एम्बुलेन्स सडकमा गुडेर बिरामीको सेवा दिनुपर्ने अवस्थामा प्रशासनिक प्रक्रियामा थन्किएको छ। सम्बन्धित निकायले शीघ्र कदम चाल्नु आवश्यक छ।”
स्थानीयवासीले एम्बुलेन्स सञ्चालनमा ल्याएर स्वास्थ्य सेवा सहज बनाउन सम्बन्धित निकायलाई तत्काल निर्णय लिनुपर्ने माग गरेका छन्। साथै, वास्तविक अवस्था बुझ्न पत्रकार र नागरिकसहित सम्बन्धित कार्यालयमा जाने तयारी भइरहेको जानकारी पनि दिइएको छ।

















