हेटौंडा/ मौसम पूर्वानुमान महाशाखा ले हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली तथा पूर्वी क्षेत्र नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।
यसको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली भएको छ भने तराई र उपत्यकाका केही स्थानमा तुवाँलो लागेको छ। आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत पहाडी क्षेत्रमा बदली रहने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा सामान्य बदली रहने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

















