कैलाश गाउँपालिकामा अस्पताल स्थापना, हजारौँ नागरिक लाभान्वित हुने

Image

हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित नयाँ अस्पताल सञ्चालनमा आएको छ। अस्पतालमा इमरजेन्सी सेवासहित स्त्रीरोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे तथा इसिजी जस्ता सेवा उपलब्ध हुने जनाइएको छ।

करिब २१ हजार ८ सय ५६ जनसंख्या रहेको कैलाश गाउँपालिका जिल्लाको दुर्गम स्थानीय तहमध्ये एक हो। गाउँपालिका सदरमुकाम हेटौंडाबाट करिब ४५ किलोमिटर टाढा रहेको छ। यसअघि यहाँका बासिन्दाले सामान्य उपचारका लागि समेत हेटौंडा वा मनहरी बजार पुग्नुपर्ने बाध्यता थियो।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकले गाउँमै स्वास्थ्य सेवा पाउने भएकाले स्वास्थ्य सेवामा पहुँच विस्तार हुने विश्वास व्यक्त गरे।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीका अनुसार अस्पताल सञ्चालनसँगै कैलाश गाउँपालिकाका १० वटै वडा तथा छिमेकी राक्सिराङ गाउँपालिकाका वडा नम्बर ४ र ९ का बासिन्दासमेत लाभान्वित हुनेछन्।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ, वडा अध्यक्ष राजेन्द्र घिसिङलगायतले मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा अस्पतालका लागि जग्गा उपलब्ध गराउने दाताहरू र भवन निर्माण गर्ने व्यवसायीलाई सम्मान गरिएको थियो।