हेटौंडा/ सुर्खेतकी किशोरी इनिशा बी.क. माथि भएको सामूहिक जबर्जस्ती करणीपछि हत्या मानवता नै लज्जित हुने जघन्य अपराध हो। यस्तो अमानवीय घटना केवल एक परिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई स्तब्ध र आक्रोशित बनाएको छ।
मकवानपुर सेवा सहयोग आज हामिका अध्यक्ष तथा सामाजिक अभियान्ता बिशाल राज महत ले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्:
“यदि अपराधीलाई उमेर घटाएर बचाउने वा कानुनी चलखेल गरेर उन्मुक्ति दिलाउने प्रयास गरियो भने त्यो न्यायमाथिको खुला आक्रमण हुनेछ। अपराधीलाई संरक्षण गर्ने होइन, पीडितलाई न्याय दिलाउने जिम्मेवारी राज्य र सम्बन्धित निकायको हो। यस्तो जघन्य अपराधमा ढिलाइ, सम्झौता वा चलखेल कुनै पनि हालतमा स्वीकार्य छैन।”
उक्त अपराधमा दण्डहीनताको संस्कारले नै यस्ता घटनालाई बढावा दिएको छ। अब पनि न्यायलाई दबाउने वा कमजोर बनाउने प्रयास भए समाज चुप लागेर बस्ने छैन। न्याय केवल कागजमा होइन, व्यवहारमा देखिनु पर्छ।
“इनिशाको लागि न्याय चाहिन्छ — ढिलो होइन, तुरुन्त। न्यायलाई दबाउने प्रयास भए त्यसको प्रतिवाद हुनेछ। आवश्यक परे न्यायको आवाज सडकसम्म पुग्नेछ। मकवानपुरका युवा अन्यायविरुद्ध आवाज उठाउन पछि पर्दैनन्। न्यायको लागि सडक आन्दोलन गर्न पनि हामी पछि पर्दैनौं। इनिशाको न्यायका लागि हाम्रो आवाज रोकिँदैन।”

















