मकवानपुरको नेवारपानीमा ट्रक र टेलर ठोक्किँदा चालकको मृत्यु

Image

हेटौंडा / मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ नेवारपानी स्थित पूर्व–पश्चिम सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मिति २०८२ फागुन २९ गते बिहान करिब ०६:१० बजेको समयमा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको टेलर गाडी र चितवनबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि कन्टेनर चालक स्टेरिङमा च्यापिएको अवस्थामा फेला परेका थिए। स्थानीयवासीको सहयोगमा उनलाई उद्धार गरी उपचारका लागि हेटौडास्थित चुरेहिल अस्पताल लगिएको थियो। तर टाउको तथा दुबै खुट्टामा गम्भीर चोट लागेका कारण अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक जिल्ला सर्लाही बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने अन्दाजी ३८ वर्षका गोबिन्द चौधरी रहेको खुल्न आएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक जिल्ला चितवन खैरेनी नगरपालिका–९ बस्ने अन्दाजी ४२ वर्षका धनेश्वर चौधरी भने सकुशल रहेका छन्।

उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।