हेटौंडा/ प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक मत गणना सकिएसँगै विभिन्न दलहरूले पाउने सिट संख्या निश्चित भएको छ। निर्वाचन आयोगले बिहीबार समानुपातिक सिट वितरण गरेपछि अब प्रतिनिधिसभामा दलहरूको आकार स्पष्ट भएको हो।
निष्कर्षअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। पार्टीले प्रत्यक्ष निर्वाचनबाट १२५ र समानुपातिक प्रणालीबाट ५७ सिट पाउँदै कुल १८२ सिट हासिल गरेको छ। तर, दुई सिटको कमीकमजोरीले पार्टीले २/३ बहुमत (१८४ सिट) पुर्याउन सकेन।
दोस्रो ठूलो दल नेपाली कांग्रेसले १८ प्रत्यक्ष र २० समानुपातिक सिट गरी ३८ सिट पाएको छ। नेकपा एमालेले ९ प्रत्यक्ष र १६ समानुपातिक सिट लिएर २५ सिटमा सिमित रह्यो भने, नेपाली कम्युनिस्ट पार्टीले ८ प्रत्यक्ष र ९ समानुपातिक गरी १७ सिट पाएको छ।
साना दलमा श्रम संस्कृति पार्टी ७ सिट (३ प्रत्यक्ष, ४ समानुपातिक), राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिट (१ प्रत्यक्ष, ४ समानुपातिक) पाएको छ। त्यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन पनि प्रत्यक्ष जितपछि प्रतिनिधिसभामा स्थान पाउनेछन्।
निर्वाचन आयोगले दलहरूलाई तीन दिनभित्र समानुपातिक सांसदको नाम चयन गरी बुझाउन पत्र पठाइसकेको छ।

















