खुला दौड : पुरुषमा सुवास हेमजन र महिलामा साधना लोप्चन प्रथम

Image

हेटौंडा / बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत पहिलो दिन जिल्लास्तरीय महिला तथा पुरुष १० किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार बिहान आयोजित प्रतियोगितामा पुरुषतर्फ राक्सिराङ–१ का सुवास हेमजन प्रथम भएका छन्। उनले अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो स्थान हासिल गरेका हुन्। पुरुषतर्फ मनहरी–८ का सन्दिप विक द्वितीय तथा बकैया–८ का राजकुमार गोले तृतीय भएका छन्।

त्यसैगरी महिलातर्फ हेटौंडा–१३ की साधना लोप्चन प्रथम भएकी छन्। उनले अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै महिला दौडको उपाधि जितेकी हुन्। महिलातर्फ हेटौंडा–१३ कै अमृता मोक्तान द्वितीय, हेटौंडा–४ की सुविना गोले तृतीय तथा राक्सिराङ–१ की निलिमा थिङ सान्त्वना भएकी छन्। दुवै विधातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २० हजार, १० हजार, ५ हजार र १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको आयोजना मकवानपुर जिल्ला खेलकुद विकास समिति ले गरेको हो। समितिका अध्यक्ष राजकुमार मोक्तानका अनुसार दौडमा रुचि भएका खेलाडीको पहिचान तथा खेल क्षेत्रको विकास गर्ने उद्देश्यले जिल्लास्तरीय महिला तथा पुरुष दौड प्रतियोगिता आयोजना गरिएको हो।

महोत्सव अन्तर्गत शुक्रबारबाट नै जिल्लास्तरीय डबल्स ब्याड्मिन्टन प्रतियोगिता पनि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा खेलकुदप्रेमी अरुणराज सुमार्गीले हेटौंडा–११ थानाभर्याङस्थित कभर्ड हलमा गरेका हुन्।

ब्याड्मिन्टन प्रतियोगितामा विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वना हुनेले ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य मदन उप्रेतीले जानकारी दिए।