हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ स्थित टोल विकास संस्थाहरूको संयुक्त बैठक ३० फागुन २०८२ मा सम्पन्न भएको छ। बैठकले वडाको विकास, सरसफाइ तथा संस्थागत सुदृढीकरणसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले वडाभित्रका सबै सडकलाई सरसफाइ गर्दै कच्ची, खाल्डाखुल्टी तथा हिलो–धुलोमुक्त बनाउने लक्ष्यसहित २०८२ भित्र वडा कार्यालयको योजना कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको छ। साथै फागुन १२ गते वडा कार्यालयको आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा “भान्सा नै औषधालय” कार्यक्रम वडा नं. ४ का सबै टोल विकास संस्थाको सहभागितामा सम्पन्न गर्ने निर्णय गरिएको छ।
त्यसैगरी वडा कार्यालयको समन्वयमा सञ्चालन हुन लागेको निःशुल्क मन्टेश्वरी तथा कुक तालिममा सूचनाको मापदण्डअनुसार प्रशिक्षार्थी सहभागी गराउने, वैशाख महिनामा टोल विकास संस्थाको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने तथा निर्माणाधीन रजत जयन्ती रोडको अधुरो काम अगाडि बढाउन सम्बन्धित निर्माण व्यवसायी र कार्यालयसँग पहल गर्ने निर्णय पनि गरिएको छ।
बैठकले टोल सरसफाइ तथा टोलमा देखिएका स–साना समस्या समाधानका लागि सबै टोल विकास संस्थाले आफ्नो कार्यक्षेत्रमा अध्ययन र पहल गर्ने तथा अवधि पुगेका तर साधारणसभा गर्न बाँकी रहेका टोल विकास संस्थाले तत्काल साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। वडा नं. ४ मा हाल २६ वटा टोल विकास संस्था रहेका छन्।
बैठकमा वडा अध्यक्ष नवीन सिग्देल, वडा सदस्य गीता त्रिपाठी र जग्गनाथ पाण्डे, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी तथा महासचिव शिवहरी दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ लगायत वडाभित्रका टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

















