हेटौंडा/ हामीले परिवर्तन अनुभूति गर्न सक्नुपर्छ भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन हेटौंडा ४ का अध्यक्ष नविन सिग्देलले आग्रह गरेका छन्।
उनले आजभन्दा ६ वर्ष अगाडि हेटौंडा अस्पतालको अवस्था कस्तो थियो भन्ने कुरा स्मरण गराउँदै दैनिक २ सय बिरामी आउने, ५० बेडको अस्पतालमा १५/१६ जना डाक्टर र ४५ जना नर्स दरबन्दी मात्र रहेको बताए। उनका अनुसार अस्पतालको काम प्रायः रिफरका लागि जस्तो मात्र थियो र हेटौंडा अस्पताललाई अर्को रिफर सेन्टर भन्थे।
पछि हेटौंडाकै स्थानीय मुख्यमन्त्री माननीय डोरमणि पौडेल भएपछि उहाँको सोचअनुसार तत्कालीन बागमती प्रदेश सरकारले २०७६ सालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको हो। प्रतिष्ठानका तीन वटा मुख्य कार्य— उपचार, अध्यापन र अनुसन्धान रहेका छन्।
उपचार कार्यमा प्रगति
जहाँ हेटौंडा अस्पताल रहेको छ, सो अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार कार्य सञ्चालन गर्न गाभिएको छ। हाल अस्पताल ५ सय बेडको बनेको छ। दैनिक १५ सयभन्दा बढी बिरामीको चेकजाँच र उपचार हुने गरेको छ। ६० जना विशेषज्ञ सेवासहित करिब १ सय ५० जना डाक्टर तथा प्राध्यापक कार्यरत छन्।
अस्पतालमा ३ वटा अक्सिजन प्लान्ट, सुविधा सम्पन्न मातृ–शिशु कक्ष, दैनिक ३० जनासम्मलाई डायलाइसिस सेवा, सिटी स्क्यान, एमआरआई, इको कार्डियोग्राम, टीएमटी, हल्टर जस्ता सुविधा उपलब्ध छन्। साथै आईसियू, एचडियू, भिडियो एक्स–रे सेवा सञ्चालनमा छन्। विशिष्ट प्रकारका अपरेशन बाहेक अधिकांश अपरेशन अस्पतालमै हुने गरेका छन् भने २४ सै घण्टा ओपिडीमा डाक्टर उपलब्ध छन्।
अध्यापन क्षेत्रमा
प्रतिष्ठानअन्तर्गत बीएससी नर्सिङमा १२०, ल्याब टेक्निसियनमा १६०, पब्लिक हेल्थमा ९५, फार्मेसीमा १ सय २० र एमबीबीएसमा ५० जना अध्ययनरत छन्। त्यस्तै एमडीमा ८ जना अध्ययनरत छन् भने २७ जना भर्ना हुने क्रममा रहेका छन्।
अनुसन्धान क्षेत्रमा
ड्रग्स एण्ड टक्सिकोलोजी सम्बन्धी अनुसन्धान, विभिन्न स्वास्थ्य समस्याको पहिचान तथा अनुसन्धान र त्यसको कार्यान्वयन भइरहेको छ। हालसम्म प्रतिष्ठानबाट ५५ वटा अनुसन्धान भएका छन्।
उनले अझै धेरै काम गर्नुपर्ने र सुधार गर्नुपर्ने क्षेत्र रहेको बताए। तर अस्पतालमा काम गरिरहेका स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई निरुत्साहित बनाउने, अस्पतालमा भएका परिवर्तन र प्रगतिलाई स्वीकार नगर्ने, केवल कमी मात्र देख्ने प्रवृत्ति उचित नभएको उनको भनाइ छ।
उनले अस्पतालमा योग्यता र दक्षता बिना स्वास्थ्यकर्मी तथा कर्मचारी भर्ना गरिएको भन्ने आरोप असत्य भएको बताए। अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी प्रक्रिया र प्रतिस्पर्धा बिना कोही पनि भर्ना नभएको उनले स्पष्ट पारे।
विभिन्न बहानामा अस्पतालमा व्यक्ति र समूह प्रवेश गर्ने, स्वास्थ्यकर्मी र कर्मचारीहरूको भेला गरी निर्देशन दिने जस्ता गतिविधि अराजकता भएको उनले उल्लेख गरे। कार्यको अनुगमन सम्बन्धित निकायले नियमित रूपमा गरी सेवालाई अझ चुस्त बनाउनुपर्नेमा उनले जोड दिए।
तसर्थ, स्वास्थ्य क्षेत्र खेलवाडको क्षेत्र नभएको उल्लेख गर्दै कसैले पनि यसलाई राजनीतिक खेल मैदान बनाउने दुस्प्रयास नगर्न अध्यक्ष नविन सिग्देलले आग्रह गरेका छन्।

















