जनप्रतिनिधिको गुनासो: ‘काम गर्दा पनि आलोचना र असुरक्षा बढ्यो’

Image

हेटौंडा / जेञ्जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण हेटौँडा उपमहानगरपालिकामा करिब ३३ करोड रुपैयाँ बराबरको भौतिक तथा प्रशासनिक क्षति पुगेको छ।

उपमहानगरपालिकाको मुख्य कार्यालय, सवारीसाधन, वडा कार्यालय तथा सहरी स्वास्थ्य केन्द्रमा व्यापक क्षति हुँदा स्थानीय सेवा प्रवाह र विकास कार्यमा गम्भीर असर परेको छ।

आन्दोलनपछि संरचना तथा महत्वपूर्ण कागजातहरू नष्ट हुँदा आन्तरिक राजस्व संकलनमा उल्लेख्य गिरावट आएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलका अनुसार राजस्व संकलन कमजोर हुनुका साथै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा समेत कटौती हुँदा तय गरिएका विकास योजनाहरू अलपत्र पर्ने अवस्था सिर्जना भएको छ। “निरन्तर प्रयासका बाबजुद हालसम्म १० प्रतिशत मात्र विकास बजेट खर्च हुन सकेको छ,” उनले बताए।

उनका अनुसार आन्दोलनपश्चात जनप्रतिनिधिहरूले काम गर्ने वातावरण झन् चुनौतीपूर्ण बनेको छ। “हामी फ्रन्टलाइनमा बसेर काम गरिरहेका छौं, तर निरन्तर आलोचना र असुरक्षाको सामना गर्नुपरेको छ,” सिग्देलले भने। आन्दोलनका क्रममा जनप्रतिनिधिहरूका निजी घरमा समेत आगजनी तथा तोडफोड भएको र कार्यकक्षमै सुरक्षित नरहेको अवस्था रहेको उनले दाबी गरे।

यसैबीच, विभिन्न आरोपहरू लागिरहेको सन्दर्भमा जनप्रतिनिधिहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। विशेषगरी हेतौंडा उपमहानगरपालिका तथा वडा नम्बर ४ बाट छानबिन सुरु गर्न सम्बन्धित निकायलाई आग्रह अध्यक्ष सिग्देलले गर्नुभएको छ। साथै, आफ्नो नेतृत्वमा भएका कामहरूको प्रभावकारिता, उपलब्धि तथा कमजोरीको तथ्यसहित मूल्यांकन गरी सार्वजनिक गर्न पनि माग गरिएको छ।

जनप्रतिनिधिहरूका अनुसार समाजसेवामा संलग्न रहँदा मनपरी आलोचना र तुच्छ व्यवहारले उनीहरू निरुत्साहित बनेका छन्। “जीवन नै जोखिममा राखेर काम गरिरहेका जनप्रतिनिधिहरूमाथि भइरहेको व्यवहारप्रति खेद व्यक्त गर्नु बाहेक अहिले हाम्रो अगाडि विकल्प छैन,” सिग्देलले भने।