काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेपछि भावुक सन्देश दिएका छन्। मेसीले अर्जेन्टिनाको निलो–सेतो जर्सी लगाउन आफूले अहिले नै सम्झिन थालेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय यात्रालाई सम्झिँदै मेसीले आफूले सही निर्णय लिएकोमा स्पष्ट रहेको बताएका छन्। उनले अर्जेन्टिनाको जर्सीमा बिताएको समयलाई खुसी र केही दुःखले भरिएको अविस्मरणीय यात्राका रूपमा वर्णन गरेका छन्।
‘हिजो मेरो अन्तिम खेल थियो र मैले निलो–सेतो जर्सी लगाउन पहिले नै सम्झिन थालेको छु। मलाई थाहा छ, मैले सही निर्णय लिइरहेको छु। यो खुसी र केही दुःखले भरिएको अविश्वसनीय यात्रा थियो। तर मैले चालेका हरेक कदम सार्थक थिए भन्नेमा म स्पष्ट छु,’ मेसीले लेखेका छन्।
मेसीले आफ्नो यात्रामा परिवारले दिएको साथलाई सबैभन्दा महत्वपूर्ण बताएका छन्। कठिन समयमा निरन्तर साथ दिएको भन्दै उनले परिवारसँगै आफूले सँगै खेलेका खेलाडी, प्रशिक्षक तथा प्राविधिक टोलीलाई धन्यवाद दिएका छन्।
उनले अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनालाई पनि सम्झिएका छन्। म्याराडोनाले अर्जेन्टिनालाई योग्य स्थानमा पुर्याएको उल्लेख गर्दै मेसीले आफ्नो यात्राका हरेक कदममा उनको साथ महसुस गर्ने बताएका छन्।
राष्ट्रिय टोलीका लागि खेल्न अनुमति र समर्थन गरेको भन्दै मेसीले आफूले प्रतिनिधित्व गरेका क्लबहरूलाई पनि धन्यवाद दिएका छन्। राष्ट्रिय टोलीको जर्सी लगाउँदा देशका लागि समर्पित हुन क्लबहरूले दिएको स्वतन्त्रता आफूका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ।
मेसीले आफ्नो अन्तर्राष्ट्रिय यात्राका लागि भगवानप्रति पनि कृतज्ञता व्यक्त गर्दै आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन्।













