हेटौंडा । हेटौंडा उपमहानगरपालिका–७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजु वाइबाको सभाध्यक्षता तथा संस्थाका संस्थापक सदस्य कुलप्रसाद त्रिपाठीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
लेखापरीक्षण प्रतिवेदन संस्थाका कायममुकायम ब्यबस्थापक सुशिल सुवेदीले प्रस्तुत गर्नुभएको थियो । हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको कूल पुजीँ ६४ करोड ४६ लाख ७० हजार ९६७ रुपैयाँ रहेको छ । शनिबार सम्पन्न सहकारीको २७ औँ वार्षिक साधारण सभामा प्रस्तुत आव २०८२\०८३ को वार्षिक प्रतिवेदनमा सहकारीले सदस्यहरुलाई ४६ करोड ३६ लाख १५ हजार ६८० रुपैयाँ कर्जा लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ । ५६ करोड २७ लाख ४१ हजार १५३ रुपैयाँ बचत निक्षेप रहेको सहकारीमा पाँच करोड २४ लाख ५८ हजार तीन सय शेयरपुजीँ रहेको छ । सहकारीमा ६ हजार ९२२ जना शेयर सदस्य आवद्ध रहेको बताउनुभयो।
सचिव गौतमले यस आर्थिक वर्षदेखि नियमित कारोबार गर्ने सदस्यलाई सामूहिक जमानीमा तीन लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको थियो।
सभामा अध्यक्ष राजु वाइबाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले सदस्यको हितलाई लक्षित गरी विभिन्न राहत कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। सदस्य सुरक्षण राहतअन्तर्गत २३ जना मृतक सदस्यका परिवारलाई प्रतिपरिवार २८ हजार रुपैयाँका दरले कुल ५ लाख ८ हजार रुपैयाँ प्रदान गरिएको छ ।
त्यसैगरी, दुर्घटना राहतअन्तर्गत २४ जनालाई प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले र थप एक जनालाई २ हजार रुपैयाँ प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ । घातक रोग उपचार राहतअन्तर्गत १० जनालाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले कुल एक लाख रुपैयाँ तथा सुत्केरी पोषण राहतअन्तर्गत ४९ जनालाई प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले कुल ९८ हजार रुपैयाँ वितरण गरिएको अध्यक्ष वाइबाले जानकारी दिनुभएको थियो ।
विभिन्न विधामा सदस्य तथा कर्मचारी सम्मानित
साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्ता, असल ऋणी, योगदानकर्ता, कर्मचारी तथा पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
मासिक बचततर्फ हिरामाया साखी क्षेत्री, भागिरथी शर्मा र कृष्णबहादुर थापा मगर पुरस्कृत भए । दैनिक बचततर्फ गजेन्द्रकुमार खनाल, श्रीमाया घलान र छविलाल शर्मा तथा बाल बचततर्फ सुदृष्टि सिग्देल, प्राब्यान हुमागाईं र सिमरन थिङ पुरस्कृत भए ।
त्यस्तै, असल ऋणीतर्फ कृष्णहरि खतिवडा, नानुमाया राई र प्रदीप ओझा पुरस्कृत भए । लखपति बचततर्फ सिर्जना घिमिरे, उत्कृष्ट सदस्यतर्फ सरिता अधिकारी, आवधिक बचततर्फ तोरणकुमारी सुवेदी, संस्थामा योगदान पुर्याउनेतर्फ रामहरि सापकोटा, संरक्षित पुँजी फिर्ता कोषतर्फ चन्दा क्षेत्री र कर्मचारीतर्फ शोभिता अधिकारी पुरस्कृत भए ।
कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार ध्रुवप्रसाद चौलागाईं र पत्रकारिता क्षेत्रबाट योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष खडानन्द चौलागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।















