जेसीआई हेटौंडाको हाजिरीजवाफमा तुलसी मेहर प्रथम

Image

हेटौंडा । विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जेसीआई हेटौंडाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयले जितेको छ ।

शुक्रबार जेसीज सप्ताह २०२६ अन्तर्गत आयोजित अम्बिका देवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगितामा तुलसी मेहरले प्रथम स्थान हासिल गरेको हो ।

हेटौंडा–९ स्थित जेसीज सचिवालयमा सम्पन्न प्रतियोगितामा प्रथम भएको तुलसी मेहरले नगद ९ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, द्वितीय भएको जि.एस. निकेतन माध्यमिक विद्यालयले ६ हजार रुपैयाँ र तृतीय भएको भुटनदेवी माध्यमिक विद्यालयले ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

जेसीआई हेटौंडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पुरस्कार सौजन्यकर्ता तथा जेसीआई हेटौंडा वर्ष २००५ का शाखा अध्यक्ष एवं जेसीआई नेपाल वर्ष २००९ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष देवेन्द्र ध्वज कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रम संयोजक रिदम पौडेलको संयोजनमा सम्पन्न प्रतियोगितामा जेसीआई हेटौंडाका पूर्व अध्यक्षहरू कुशकुमार रिजाल, रवि नेपाल, पवनकुमार कंसाकार र पंकज दास बानियाँलगायतको उपस्थिति रहेको थियो ।

जेसीज सप्ताह २०२६ को मूल संयोजक सञ्जयकुमार न्यौपाने र सह–मूल संयोजक विनोद वाग्ले रहेका छन् ।