काठमाडौँ ।
टोखा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका प्रकाश अधिकारी उच्च अदालत पाटनबाट ठगीको अभियोगमा दोषी ठहर भएका व्यक्ति भएको देखिएको छ ।
अधिकारीले सहकारीको नाममा २ सय २ जनालाई ठगी गरेको अभियोगमा दोषी ठहर गरी उच्च अदालत पाटनलेले २०७५ फागुन १९ गते एक महिला कैद र १८ लाख ३१ हजार आठ सय ८७ रुपैया बुझाउनु पर्ने ठहर गरेको थियो ।
टोखा नगरपालिकाको प्रमुखमा बिजयी भएपछि उनीसहितले नाङ्लो दीप सेभिङ एन्ड क्रेडिट को अपरेटिभ प्राली मार्फत निक्षेपकर्तालाई ठगी गरेको अदालतले ठहर गरेको हो ।
उच्च अदालत पाटनको फैसलाबिरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन दिए पनि उनको सो मुद्धाको किनारा लागिसकेको छैन । साविकको गोगंबु गाविस वडा नम्बर ६ मा रहेको नाङ्लो दीप सेभिङ एन्ड क्रेडिट सञ्चालन गर्ने सञ्चालक विरुद्ध २०७१ मा जाहेरी परेको थियो । जाहेरी दिनेमा अप्सरा पौडेल, प्रदीपकुमार बन्जारा लगायत २ सय २ जना थिए ।
जाहेरी दिनेहरुले सुवास चन्द्र बिसी, धनमाया श्रेष्ठ, मिलन कार्की, सितामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह, देउमाया लिम्बु र प्रकाश अधिकारीविरुद्ध जाहेरी दिएका थिए ।
तीजमा साडी उपहार दिने र आकर्षक ब्याज दिने भन्दै प्रलोभनमा पारेर रकम जम्मा गर्न लगाएर सहकारी मार्फत १ करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ ठगी गरेको भनी पीडितहरुले अदालतमा मुद्धा दायर गरेको थिए ।
सो सहकारीका संचालक सुवासचन्द्र विसीकी श्रीमती धनमाया श्रेष्ठलाई प्रहरीले २०७१ फागुन ४ मा पक्राउ गरेको थियो भने बीसी बेपत्ता भएका थिए । उनै बिसीको २०७१ फागुन ११ मा तारकेश्वर नगरपालिका मुड्खुको जङ्गलमा झुन्डिएको अवस्थामा शब फेला परेको थियो ।
अदालतले धनमाया श्रेष्ठलाई ५० हजार जमानतमा तारेखमा छाड्न र तिर्न नसके थुनामा पठाउन आदेश दिएको थियो ।
सहकारीकी कोषाध्यक्ष देउमाया लिम्बुले सुवासचन्द्र बिसि र धनमाया श्रेष्ठले कोषाध्यक्ष बस्न आग्रह गरेकाले आफू बसेको एक दिन पनि कार्यालय नगएको बयान दिएपछि अदालतले उनलाई १५ लाख धरौटीमा तारेखमा छाडेको थियो ।
टोखा नगरपालिकामा मेयरका उम्मेदवार अधिकारीलाई पनि २०७१ चैत २ मा अदालतले २ लाख ५० हजार धरौटी बुझाएर तारेखमा छाड्न आदेश दिएको थियो । त्यसबेला उनी सहकारीको कुनै पनि पदमा भने थिएनन् ।
उच्च अदालत पाटनले ठहर गरेबमोजिम प्रकाश अधिकारीलाई १ महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ बुझाउनु पर्ने र पहिले नै २ लाख ५० हजार धरौटी राखिसकेकाले १५ लाख ८१ हजार ८ सय ८७ रुपैयाँ बुझाउनु पर्ने ठहर गरेको थियो ।
अदालतले यो फैसला गर्दा उनी टोखा नगरपालिकाको बहालवाला मेयर थिए । तर न त उनी पक्राउ नै परेर जेल गए ।
उनले जरिवाना पनि तिरेका छैनन् । ठगीमा दोषी ठहर हुँदा पनि उनले राजीनामा समेत दिएनन् । अधिकारी आफूलाई अन्याय भएको दाबी गर्दै आफू ४ वटा बैठकमा मात्र सहभागी भएको र २०६९ मै राजीनामा दिएको भनेका छन् । सत्ता र शक्तिको आडमा उनले पार्टीबाट पुनः टोखाको मेयरमा उम्मेदवारीको टिकट पाउनुलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् ।