हेटौंडा ।
मकवानपुर जिल्लामा पछिल्लो समय डेङ्गुको संक्रमण फैलँदै गएको छ । १५ दिनकाे अवधिमा २८ जनामा डेङ्गु संक्रमण पुष्टी भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ ।
यस वर्ष साउनको दोस्रो सातासम्म २८ जनामा डेङ्गुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिएका छन् । मकवानपुरका १० वटा स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै डेङ्गु संक्रमण पुष्टी भएकाे घिमिरेले बताएका छन् ।
उपमहानगर बाहेक अन्य २ स्थानीय तहमा डेङ्गु भेटिएको घिमिरेले बताएका हुन् । सबैभन्दा बढी संक्रमित ४ नम्बर वडा र ५ नम्बर वडामा रहेका छन् । हाल संक्रमितहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये १ जनामा कालाजार र ९ जनामा स्क्रबटाइफसको संक्रमण भएको घिमिरेले जानकारी दिएका छन् । कालाजार संक्रमित चाहिँ मनहरी गाउँपालिकाका व्यक्ति रहेका छन् ।
गत आर्थिक वर्षमा १ सय ९५ जनामा डेङ्गू संक्रमण भएको थियो भने स्क्रबटाइफसका बिरामी ५५ जना, मलेरियाका बिरामी ३० जना र कालाजारका बिरामी २ जना भेटिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । डेङ्गू संक्रमण बढ्ने क्रममा भएकाले सुरक्षित रुपमा बस्न स्वास्थ्य कार्यालयले सबै मकवानपुर जिल्लाका बासिन्दाहरू लाई आग्रह गरेकाे छ ।
















