हेटौंडामा डेङ्गो रोग संक्रमण बढ्दै गएपछि स्प्रे गर्न सुरु

Image

हेटौंडा ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गो रोग संक्रमण बढ्दै गएपछि स्प्रे गर्न थालिएको छ । ४ र ५ नम्बर वडा क्षेत्रमा संक्रमण बढ्दै गएपछि उपमहानगरले स्प्रे गर्न थालेको हो ।

हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य शाखाका जनस्वास्थ्थ अधिकृत भोला चौलागाईका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जिवाणु नष्ट गर्ने गरी ‘डाइथाल कार्वसेट’ पानीमा मिसाएर छर्किन थालेको जानकारी दिएका छन् । संक्रमणलाई तिब्ररुपमा फैलन नदिनका लागि समुदाय मा मट्टीतेलको प्रयोग गरी लार्भा नष्ट गर्न सचेतना जगाउँदै बढि जोखिम रहेको क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको जानकारी दिएका छन् । अहिले हेटौंडा ४ को कमलडाँडा क्षेत्र र मेनरोडमा स्प्रे गर्ने कार्य नगरप्रहरीले गरिरहेको छ ।

संक्रमण फैलिएका वडाको पहिचान गरी आवश्यकता अनुसार संक्रमण नियन्त्रणको अभियान सञ्चालन गरीने जनस्वास्थ्य अधिकृत चौलागाइले बताएका छन् । यि दिनहरूमा हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमणका बिरामीको दर बढ्दै गएको र योसँगै नगरमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । असारको अन्तिमबाट सुरु भएको संक्रमणको दर बिस्तारै बढ्दै गएको र अहिले सम्म ४३ जनामा संक्रमण देखिएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।

जिल्लाको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्ने ४ र ५ नम्बर वडामा बढी मात्रामा बिरामीहरु देखिएका हुन्। अन्य स्थानीय तहमा केही संख्यामा डेङ्गु संक्रमित देखिएपनि नगर क्षेत्रमा देखिनुले झनै समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बिस्तारै बिरामिको संख्या बढ्दै गएकोले सर्तकता, सुरक्षा साथै सचेतना आवश्यक रहेको उपमहानगरपालिका ले जनाएको छ । संक्रमितहरुको हेटौंडा अस्पतालमा उपचार भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।