हेटौंडा । वर्षैपिच्छे अभिभावकक संग चर्को रकम असुल्दासमेत स्थानीय सरकारले कुनै चासो नदिनु दुखद भएको अभिभावक संघको धारणा रहेको छ । संघले पटकपटक आवाज उठाउदासमेत अनुगमन नगर्ने र अनुगमन गरेपनि विद्यालयका संचालकलाई लिएर अनुगमनमा निस्किने गरेकाले अभिभावक मारमा पर्ने गरेको संघकी जिल्ला अध्यक्ष रमिला सापकोटाले बताइन् ।
यो कुरामा हाम्रो गम्भीर आपत्ति छ, हामीले पटकपटक घच्घच्याउने काम गर्दासमेत स्थानीय सरकारले बेवास्ता गरेको छ । ‘स्कुल संचालकसंग नजिक भएकाले उहाहरु प्याब्सन बोकेर अनुगमनमा निस्किनु हुन्छ सम्बन्धित निकायले कुनै चासो नदिएकाले अभिभावक मारमा परेका हुन्’ उनले भनिन् ।
यो विषयमा तत्काल अनुगमन गरेर विद्यालयले शिर्षक परिवर्तन गरेर लिएको चर्को शुल्क फिर्ता गराउनुपर्ने उनको भनाई रहेको छ । विज्ञप्ति निकाल्यो कार्यान्वयन छैन स्थानीय सरकार चुपचाप रहेको छ ।
निजी विद्यालयले खुलेआम लुट मच्चाउदा यहाँको स्थानीय सरकार भने मौन बसेको छ । आफ्नै शिक्षा ऐन कार्यन्वयन गराउन हेटौंडा उपमहानगरपालिकाले सकेको छैन ‘कुनै कक्षामा भर्ना गर्दा एक पटक भर्ना लिईसकेपछी पुनः सोही विद्यालयले अर्को कक्षा भर्ना गर्नको लागि अन्य कुनै शुल्क लिन नपाउने भन्ने प्रावधान भएपनि हरेक वर्ष हेटौंडामा अभिभावक ठगिने गरेका छन् ।
गत बैसाख १० गते हेटौंडा उपमहानगरपालिकाले एक विज्ञप्ति निकाल्दै भर्ना शुल्क नलिन भनेको थियो । तर यहाँका निजी तथा सरकारी विद्यालयले त्यसको बेवास्ता गर्दै भर्ना शुल्कको शिर्षक हटाएर अन्य शिर्षक थपेर चर्को शुल्क उठाएका छन् । स्थानीय सरकारले भने यसलाई नदेखे जस्तो गरेर बसेको अवस्था छ । चर्को शुल्क उठाएको चौतर्फी गुनासो आएपनि हेटौंडा उपमहानगरपालिकाले न कुनै अनुगमन गरेको छ नत यो विषयमा थप कुनै काम नै गरेको छ ।
उता हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख सिताराम कोइरालाले भने नगरको विद्यालयलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुगेकाले त्यसपश्चात अनुगमन गरी बढी लिएको शुल्क समायोजन गरिने बताएका छन् । ‘वर्गीकरणको काम सकिएलगत्तै हामीले अनुगमन गर्छौं र कसैले बढी लिएको पाए मासिक शुल्कमा समायोजन गर्छौं। हेटौंडा उपमहानगरपालिका भित्र रहेका अधिकांस विद्यालयले अभिभावकको ढाड सक्ने गरी चर्को शुल्क उठाईरहेको छ ।
हेटौंडाका नाम चलेका निजी विद्यालयहरुले नियम विपरित विभिन्न शिर्षक राख्दै विद्यार्थी भर्ना गर्दा अभिभावकबाट चर्को शुल्क उठाएका छन्।
चर्को शुल्क उठाउनेमा बाल जागृति मावि, नवोदय शिशु सदन मावि, सोलिडारिटी स्कूल, तासिर मावि, कृष्ण आदर्श मावि, जी एस निकेतन मावि, ब्राम्हदिक माविलगायत विद्यालयले नियमविपरित चर्को शुल्क उठाएको पाइएको हो ।
हेटौंडा उपमहानगरपालिकाको शिक्षा ऐन २०७४ को दफा २८ को उपदफा ५ मा ‘विद्यालयले विद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एक पटक भर्ना लिईसकेपछी पुनः सोही विद्यालयले अर्को कक्षा भर्ना गर्नका लागि अन्य कुनै शुल्क लिन नपाइने उल्लेख छ तर उक्त प्रावधानविपरित यहाँका सबै निजी विद्यालयले अन्य शिर्षक राखी चर्को शुल्क असुलेका छन् ।
विद्यालयले भर्ना गर्ने बेला चर्को शुल्क लिने गरेपछी आफुहरु मारमा परेको अभिभावकले गुनासो गरेका छन् । नियममा शुल्क निल नपाउने भएपनि विद्यालयले भर्ना गर्ने बेला अनेक शिर्षक राखेर रकम असुल्ने गर्दा अभिभावकलाई समस्या भएको भन्दै रकम फिर्ता गर्नुपर्ने अभिभावकहरुको माग रहेको छ । – हेटौंडाखबरबाट















