हेटौंडा / नेपाल प्रेस युनियन मकवानपुरले बार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ। प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा चार जना प्रेस युनियनकर्मीहरुलाई सम्मानित एवम् पुरुस्कार बितरण गरिएको हो।
शनिबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियन मकवानपुरको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा संस्थापक अध्यक्ष राममणी दाहाललाई नगद १५ हजारसहित स्वर्गीय सितादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार-२०८१ प्रदान गरिएको छ ।
त्यसैगरी जनही १० हजारसहित नगद प्रेस युनियन पत्रकारिता पुरस्कार-२०८१ बाट प्रेस युनियनका बागमती प्रदेश सदस्य गंगाप्रसाद पौडेल, गणेश दर्पण अधिकारी र मानवी बानियाँलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता रहेको थियो। नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा ब्लोनको विशिष्ट आतिथ्यता, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस युनियनका उपाध्यक्ष, नकुल अर्याल, महासचिव दीलिप पौडेल, केन्द्रीय सदस्यद्वय राजन दाहाल खुसराज, सबिना पौडेल लगायतको उपस्थिति रहेको थियो। यस्तै प्रेस युनियनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै अध्यक्ष बालकृष्ण अधिकारीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
पुरस्कार स्थापनाको लागि गैर आवासीय नेपाली संघ (एनआरएन) का अभियान्ता हाल वेलायत निवासी चिरञ्जीवी ढकाल र हाल अमेरिका निवासी मकवानपुरे पत्रकार सुदीप शिवाकोटीले सहयोग गरेको अध्यक्ष बिडारीले बताउनुभयो ।

















