हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारणसभा आजबाट २७ गते सम्म हेटौँडाको पल्पसा सदनमा सुरु हुँदैछ। साधारणसभाको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ।
यो साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष प्रमोद सिंह रानाभाट र अनिल अग्रवाल प्रतिस्पर्धामा छन्। दुबै उम्मेदवारले प्यानलसहित चुनावी प्रतिस्पर्धाको घोषणा गरिसकेका छन्।
यस वर्षदेखि सबै पदहरूमा प्रत्यक्ष निर्वाचनको व्यवस्था लागू गरिएको छ, जसले प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ। अध्यक्षसहित २८ पद प्रत्यक्ष निर्वाचित हुनेछन्। साथै, संघको पदाधिकारी बन्नका लागि एक कार्यकाल सदस्य निर्वाचित भएको अनिवार्य हुने प्रावधान पनि राखिएको छ।