हेटौंडा/ हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नु भयो। विगत लामो समयदेखि विवादित रहेको यो सडक विस्तारको काम समाधानको चरणमा पुगेको भन्दै उनले यसमा सकारात्मक प्रगति भइरहेको जानकारी दिनुभयो।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको छैठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर लामाले एसियन हाइवेअन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रको राष्ट्रिय राजमार्ग निर्माणको समस्या हल गर्ने दिशामा काम भइरहेको बताउँदै एसियाली विकास बैंक (ADB) ले यस विषयमा विस्तृत अध्ययन गरिरहेको र आगामी चैत महिनासम्ममा ADB ले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपछि सडक विस्तारको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने उनको भनाइ रहेको थियो।
सडक विस्तारका क्रममा सडक किनारमा रहेका जग्गाको मुआब्जा नदिए पनि क्षति भएका भौतिक संरचनाहरूको क्षतिपूर्ति उपलब्ध गराउने योजना रहेको बताउँदै उपमहानगरपालिकाले २५ मिटर चौडा सडक निर्माणको लागि आवश्यक सहकार्य गरिरहेको जानकारी दिनुभयो।
यस्तै मेयर लामाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि उपमहानगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै सडक विस्तारको विवाद समाधान हुने संकेतले स्थानीय नागरिकहरूमा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ।

















