हेटौँडा । बस्तीनजिकैको बारीमा सुकेको मकैका बोट, केराका पात र स्याउलाले खोर निर्माण गरिएको छ । खोरभित्र बाख्राको पाठोलाई घाँससहित राखिएको छ । बस्तीमा लामो समयदेखि चितुवाले दुःख दिन थालेपछि हेटौँडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरी र बेलडाँडाबिचमा रहेको मिलन चोकमा चितुवालाई पासो पार्न यसरी राखिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही समययता चितुवालगायतका वन्यजन्तुको आतङ्क फैलिएपछि निकुञ्ज कार्यालयले चितुवा समाउन सो क्षेत्रमा क्यामरा जडान गरी खोर राखेको हो । क्यामरा रुखमा जडान गरिएको छ र खोरमा चितुवा वा जङ्गली जनावर परे/नपरेको कार्यालयबाटै निगरानी गर्न सकिन्छ ।
निकुञ्ज कार्यालय आधाभारका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा निकुञ्जको मध्यवर्ती क्षेत्र हेटौँडा उपमहानगरपालिका–१३ मा चितुवाको आतङ्क बढ्न थालेपछि चितुवालाई समाउन फलामे खोरको पासो थापिएको बताए। उनले पासोभित्र चितवा वा अन्य जङ्गली जनावर परेपछि आफैँ खोर थुनिने र खोरमा रहेको पाठोलाई समेत कम क्षति हुने भएकाले नयाँ प्रविधि अपनाइएको बताए ।

















