हेटौंडा/ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमार चौरमा नेपाल तामाङ घेदुङ गाउँपालिका कार्यसमितिको आयोजनामा सोनाम ल्होछार पर्व आगामी माघ १२ गते शनिबार मनाइने भएको छ। यस पर्वमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित तामाङ समुदायको कला, संस्कृति र परम्परालाई झल्काउने कार्यक्रम गरिने छ।
पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष सानोकान्छा थिङले पर्व माघ १७ गते भए पनि कला र संस्कृतिलाई जोड दिनकै लागि माघ १२ गते मनाउन लागिएको जानकारी गराए। नयाँ वर्ष २८६१ (सर्प वर्ष) मनाउने क्रममा तामाङ भेषभूषा, मौलिक संस्कार, भाषा र संस्कृति संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकता दिइने छ।
पर्वमा राष्ट्रिय कलाकार प्रकाश तितुङ, रेश्मा भोम्जन, फूलकुमार भोम्जन, एलिना रायमाझी लगायत स्थानीय कलाकारहरुको प्रस्तुति हुनेछ। साथै, गायन र नृत्य, तामाङ ताम्बा तथा लामाहरुको झाँकी प्रदर्शन, भेषभूषा र खानाका स्टलहरु पनि समावेश गरिनेछ। आयोजकको अनुसार कार्यक्रमको लागत अनुमानित ६ लाख रुपैयाँ हुनेछ।
पत्रकार सम्मेलनमा गाउँ कार्यसमितिका सल्लाहकार राजकुमार गोले, जिल्ला कार्यसमितिका सदस्य आकाश गोले, उपाध्यक्ष विक्रम योन्जन, र नेपाल पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो।