हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. ५ बालमैत्री वडा घोषणा भएको समाचारले स्थानीय सरकारको बाल अधिकारप्रति देखाएको प्रतिबद्धता र प्रयासलाई प्रष्ट रूपमा उजागर गर्दछ। “बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ यस वडाले बालश्रम, बालविवाह, र बाल अधिकार उल्लङ्घन जस्ता समस्याहरूलाई प्रभावकारी रूपमा सम्बोधन गरेको छ।

वडाले नेपाल सरकारद्वारा निर्धारण गरिएका बाल अधिकारका चार मुख्य क्षेत्रहरूमा आधारित ३६ सूचक र संस्थागत विकासका ४७ सूचकहरू पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको हो। यसमा विद्यालय, बालसमूह, र नागरिक समाजसँग सहकार्य गर्दै उल्लेखनीय उपलब्धिहरू हासिल गरिएकाे वडा अध्यक्ष शुशिल घिमिरेले बताउनुभयो।
घोषणा समारोह वडा अध्यक्ष शुशिल घिमिरेको सभाअध्यक्षतामा नगर प्रमुख मिना कुमारी लामाको प्रमुख अतिथि र उपप्रमुख राजेश बानियाँको विशिष्ट अतिथिमा घोषणा गरिएको थियो। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरूको विशेष उपस्थिति रहेको थियो।
यो घोषणा समारोहले बाल अधिकार सुनिश्चित गर्दै स्थानीय विकासमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।

















