हेटौंडा/ मकवानपुरमा सञ्चारकर्मीहरूले राज्यबाट सुरक्षा पाउने प्रत्याभूति नहुँदा असुरक्षित महसुस गरिरहेको गुनासो गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित छलफल कार्यक्रममा उनीहरूले समाचार सम्प्रेषणमा राजनीतिक हस्तक्षेप, भ्रष्टाचारको उजागर गर्दा मानसिक दबाब र अन्य चुनौतीहरूको सामना गर्नुपरेको बताएका छन्।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारहरूले समाचार लेखेकै कारण जेल जानुपर्ने अवस्था हुनु दुःखद रहेको बताउनुभयो । सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहालले महिला पत्रकारहरूको क्षमता माथि अझै प्रश्न उठाइने अवस्थाले चुनौती थपेको बताइन्।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख पवन कुमार भट्ट, मानव अधिकार अधिकृत कृष्ण प्रसाद मिश्र, तथा मकवानपुरका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। छलफलमा पत्रकारहरूको पेशागत सुरक्षाप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

















