हेटौंडाका दुई ठुला विधालय एकिकरणका लागि ७ सदस्यीय कार्यदल गठन

Image

हेटौडा/ हेटौंडामा दुई ठूला विद्यालयलाई एकीकृत गरी मेगा विद्यालय सञ्चालनको योजना अघि बढाइएको छ। भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माविलाई एकीकरण गर्न हेटौंडा उपमहानगरपालिका र ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलको संयोजक वडा नं. ४ का अध्यक्ष तथा भुटनदेवी मावि व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल हुनुहुन्छ भने सहसंयोजकको रूपमा आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष मोहमद समिम रहनुभएको छ। अन्य सदस्यहरूमा हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका हरिषचन्द्र सापकोटा, भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल, आधुनिक माविका प्रधानाध्यापक रामसागर गुरागाईं, कार्यपालिका सदस्य जुना दाहाल र इश्वरी रसाइली रहेका छन्।

कार्यदलले माघ मसान्तभित्र दुबै विद्यालयको भौतिक संरचना, शिक्षक, विद्यार्थी र कर्मचारी सम्बन्धी विवरण संकलन गरी प्रारम्भिक प्रतिवेदन बुझाउने लक्ष्य राखेको अध्यक्ष सिग्देलले बताउनुभयो। नयाँ मेगा विद्यालय सञ्चालनका लागि आगामी बैशाखबाट प्रक्रिया सुरु हुने कार्यदलका संयोजक सिग्देलले जानकारी दिनुभयो।