हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ माघ ११ गते निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँने भएको छ। वडा अध्यक्ष सविन न्यौपानेका अनुसार आवश्यक ५१ सूचकहरूमध्ये ४७ सूचकमा १००% नतिजा प्राप्त भएको छ भने बाँकी ४ सूचकमा न्यूनतम मापदण्ड पूरा गरिएको छ।
वडामा १८ वर्ष मुनिका २,०१४ बालबालिकामध्ये १,०४५ बालक र ९६९ बालिका छन्। यहाँ ६ विद्यालय, १८ बालसमूह, र १ वडा बाल सञ्जाल छन्, जसमा ३६३ बालबालिका संलग्न छन्। अभियानअन्तर्गत ८ बालविवाह रोकिएको छ र बालश्रमिकको उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएको अध्यक्ष न्यौपाने बताउनुभयो।
यस वडालाई यसअघि पूर्ण खोप वडा, पूर्ण साक्षर वडा, र खुला दिसामुक्त वडा घोषणा गरिएको थियो। हेटौंडा उपमहानगरपालिकाले २०७९ सालमा बालमैत्री स्थानीय शासन घोषणा गर्ने निर्णय गरेको थियो, जसका लागि विभिन्न वडाहरूले सफलता हासिल गर्दै आएका छन्।

















