हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले २४ घण्टा पानी वितरण गर्ने योजना

Image

हेटौंडा/ हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले हेटौंडामा खानेपानीलाई सहज बनाउन  २४ घण्टा पानी वितरणका लागि आफ्नो योजना सहित आफ्नो वर्तमान अवस्थाको  बारेमा सरोकारवालाहरु संग छलफल र अन्तरक्रिया गरेको छ।

शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, बागमती प्रदेशको खानेपानी तथा सिचाईं मन्त्रालयका सचिव मोहनकुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, वडा अध्यक्षलगायत विभिन्न क्षेत्रका सरकोकारवालाको उपस्थितिमा सोही विषयमा अन्तरक्रिया गरिएको हेटौंडा खानेपानी बोर्डका सुचना अधिकारी संजय न्यौपानेले बताउनुभयो ।

अध्यक्ष प्रताप बिष्टका अनुसार बोर्डले हेटौंडा उपमहानगर क्षेत्रमा दैनिक सरदर ३ करोड ७० लाख लिटर पानी उत्पादन गरी करिब २८ हजार धाराहरूमार्फत् ८–९ घण्टा पानी वितरण गरिरहेको छ।
बोर्डले नगर क्षेत्रमा १५ वटा डीप ट्यूवेल निर्माण कार्य सम्पन्न गरेको छ। साथै, संघीय सरकार, खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र बोर्डको सहलगानीमा १५ करोडको लागतमा ओभर हेड पानी टंकी, भूमिगत पानी टंकी, डीप बोरिङ, पाइपलाइन विस्तार, र विद्युतीकरण कार्य पनि सम्पन्न गरेको छ।
बोर्डले हेटौंडा उपमहानगरका १ देखि १९ वडामध्ये अधिकांश क्षेत्रहरूमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरबासीलाई खानेपानी सेवा प्रदान गरिरहेको अध्यक्ष बिष्टले बताउनुभयो।