हेटौंडा/ प्रेस सेन्टर मकवानपुरले पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालको लोकतन्त्र, राष्ट्रियता, र स्वाधीनता माथि खतरा उत्पन्न भएको बताएका छन्। मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको सोच र नीति गलत दिशामा गइरहेको र यसले मुलुकलाई गम्भीर संकटमा पार्ने चेतावनी दिएका छन्।
उनले अन्तर्राष्ट्रिय राजनीतिमा आएको परिवर्तनले नेपालका लागि चुनौतीहरू सिर्जना गरेको भन्दै स्वाधीनताको रक्षा गर्न सरकार असफल भइरहेको आरोप लगाए। साथै, परराष्ट्र नीतिमा स्पष्टता नहुँदा देशको सुरक्षा जोखिममा परेको उनको धारणा थियो।
महासचिव गुरुङले सुशासनको नाममा सरकारले भ्रष्टाचार र कमिशन प्रणालीलाई मलजल गरिरहेको बताउँदै संसदलाई कमजोर बनाउन खोजेको आरोप लगाए। उनले संसदलाई छलेर अध्यादेश ल्याउने सरकारको प्रवृत्ति लोकतान्त्रिक व्यवस्थामै हमला भएको टिप्पणी गरे।
उनले विशेषगरी ३१ वटा कानुन अध्यादेशमार्फत संशोधन गर्नु सरकारको गलत नियतको प्रमाण भएको बताए। साथै, अघिल्लो प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारविरोधी अभियानलाई ओली नेतृत्वको सरकारले कमजोर बनाएको उनको आरोप छ।