पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्धको खोप अभियान सुरु

Image

हेटौंडा/ बागमती प्रदेशमा पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ। १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरेको छ।
मुख्यमन्त्री बहादुर सिंह लामाले खोप अभियानको उद्घाटन गर्दै महिलाहरूले अझै पनि स्वास्थ्य समस्यालाई लाजको विषय बनाउने प्रवृत्ति रहेको बताउनुभयो। दुर्गम भेगका महिलाहरू अपहेलनाको डरले समस्या लुकाउने भएकाले स्वास्थ्य सचेतनाको आवश्यकता रहेको उहाँले जोड दिनुभयो।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाका अनुसार सर्ने भन्दा नसर्ने रोगहरूको अवस्था गम्भीर बन्दै गएको छ। अभियान अन्तर्गत विद्यालय भित्रका २ लाख ७५ हजार ७१ किशोरी र विद्यालय बाहिरका २३ हजार २३४ किशोरीलाई खोप लगाइनेछ।

प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरै काठमाडौंका १ लाख ८ हजार १०४ किशोरी र सबैभन्दा कम रसुवाका १ हजार ६८६ किशोरीले खोप पाउनेछन्।
खोप अभियानको शुभारम्भ कार्यक्रममा विभिन्न सरकारी पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यो अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएकाे मन्त्री लामाले बताउनुभयो।