हेटौंडा/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा ९० दिनका लागि सबै वैदेशिक अनुदान स्थगित गर्ने कार्यकारी आदेश जारी गरेपछि, नेपालमा अमेरिकी सहयोगमा सञ्चालित केही परियोजनाहरू प्रभावित भएका छन्। अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनाहरूमा अमेरिकी राष्ट्रपतिको आदेशानुसार एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू रोकिएको जानकारी गराइएको छ।
यसअघि, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि, र समावेशी नीतिसहितका परियोजनाहरू ९० दिनका लागि स्थगित गर्न पत्राचार गरेको थियो। यूएसएआईडीले अर्थ मन्त्रालयलाई पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको थियो।
एमसीसी परियोजनाहरू अन्तर्गत विद्युत् प्रसारण लाइन निर्माण, सबस्टेसन निर्माण, र सडक स्तरोन्नति जस्ता कार्यहरू समावेश छन्। यी परियोजनाहरूमा अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषबाट ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर लगानी रहेको छ। एमसीसी परियोजना २०८५ भदौ १३ गतेसम्म पूरा गर्ने लक्ष्य राखिएको थियो।
हाल, अमेरिकी अनुदान स्थगनका कारण नेपालमा सञ्चालित एमसीसी परियोजनाहरू पनि प्रभावित भएका छन्। अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू रोकिएको जानकारी गराइएको छ।

















