हेटौंडामा अत्याधुनिक अटोमेटिक पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ

Image

हेटौंडा/  हेटौंडामा गोली लोड भएको अत्याधुनिक अटोमेटिक पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

आइतबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे प्रहरी चौकी र अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरबाट चितवन जाँदै गरेको ना ख ८७७३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा ९ एमएमको अटोमेटिक पेस्तोल बरामद गरेको हो। पेस्तोलमा १ राउन्ड गोली लोड गरिएको थियो भने थप दुई थान गोली समेत प्रहरीले फेला पारेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू भारत, बिहार राज्यका रहेका छन्। पक्राउ परेका व्यक्तिहरूमा सिहुहर जिल्ला धनहराग्रामका २२ वर्षीय धिरज कुमार र मोतिहारी जिल्ला बहरीका दिपक कुमार रहेका छन्।
मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिनुभएको छ।

उनका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।
प्रहरीले शस्त्र ओसारपसारको विषयलाई गम्भीर रूपमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।