हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायात क्षेत्रमा सुधार गर्न प्रदेश सरकार दृढ रहेको बताउनुभयो । नारायणी यातायात व्यवसायी संघको ३६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनको अवसरमा बोल्दै उनले यातायातसम्बन्धी कानुनी सुधार तथा प्रविधिमैत्री प्रणालीको विकासलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
मुख्यमन्त्री लामाले यातायात व्यवसायीहरूले भोग्दै आएका प्रमुख समस्याहरू जस्तै रोड परमिट, सवारी जाँचपास र नवीकरण प्रक्रियालाई डिजिटल प्रणालीमार्फत सहज बनाउने विषयमा सरकार तयार रहेको बताए। साथै, दुर्घटना तथा बिमासम्बन्धी कानुनी सुधारका लागि पनि प्रदेश सरकारले पहल गर्ने उहाको भनाइ रहेको थियो।
बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रदेशको कुल राजस्वमा यातायात क्षेत्रको ३० प्रतिशत योगदान रहेको जानकारी गराउँदै २२ लाख सवारी चालक अनुमति पत्र नागरिक एपमा समावेश गरिएको उल्लेख गर्दै अनलाइनमार्फत राजस्व तिर्ने, सवारी साधन नामसारी तथा नवीकरण प्रक्रियालाई सहज बनाउन सरकार लागिपरेको बताउनुभयो।
कार्यक्रममा विभिन्न सरोकारवालाहरूले यातायात क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाए। नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले संघले सरकारलाई कर तिर्दै आइरहेको र कर चुक्ता गर्न संघको भौतिक सम्पत्ति बिक्री गर्ने योजना बनाइरहेको जानकारी दिनुभयो।
संघले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमलाई वार्षिक सहयोग गर्दै आएकोमा यस वर्ष ५१ हजार रुपैयाँ प्रदान गरिएको छ। त्यस्तै, दुर्घटना नघटाउने पाँच जना चालकलाई नगदसहित सम्मान गरिएको छ।
यस अवसरमा नेपाल मेडिसिटी अस्पतालको चिकित्सक टोलीले व्यवसायीहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरेको थियो।

















