माझी समुदायको प्रमुख चाड लदी पर्व विशेष कार्यक्रमसहित बकैयामा मनाईने

Image

हेटौंडा / फागुन २० प्रकृति पूजक माझी समुदायको प्रमुख चाड लदी पर्व (कोसी पूजा) को अवसरमा मकवानपुरको बकैया गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। नेपाल माझी उत्थान संघ केन्द्रीय समितिको आयोजनामा बकैया गाउँपालिका-६, जुईनामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिने  जानकारी दिईएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरूले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने जानकारी दिएका छन्। २०६५ सालबाट लदी पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरी माझी समुदायले फागुन महिनाको तेस्रो मंगलबार नदी तथा खोलामा गई पूजा गर्दै  आएका छन्।

बागमती प्रदेश सरकारले लदी पर्वको अवसरमा माझी समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल माझी उत्थान संघका अनुसार २०७८ सालको जनगणना अनुसार नेपालमा माझी जातिको जनसंख्या १ लाख ११ हजार ३५३ रहेको छ। लदी पूजाका अवसरमा माझी समुदायले नदी तथा खोलामा गई विशेष पूजा गर्ने प्रथागत परम्परा रहिआएको छ। प्राकृतिक स्रोतको पूजा गर्दै माझी समुदायले आफ्नो मौलिक संस्कृतिलाई निरन्तरता दिँदै आएका छन्। कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी , बरिष्ठ पत्रकार प्रताब बिष्ट लगायतको उपस्थिति रहेको थियो।