हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१०, राप्ती रोडमा ‘हेटौंडा नेपाल ल्याब हाउस एन्ड मल्टि स्पेसियालिटी क्लिनिक’ सञ्चालनमा आएको छ। मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह राणाभाटले बिहीबार एक विशेष समारोहका बीच उक्त क्लिनिकको औपचारिक उद्घाटन गर्नु भएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाभाटले मकवानपुरमा पहिलो पटक बी ग्रेडको ल्याब सञ्चालनमा आउनु अत्यन्त महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाले भन्नुभयो, “हेटौंडा प्रदेश राजधानी भए पनि स्वास्थ्य क्षेत्रमा अझै पनि पिछडिएको अवस्थामा छ। बी लेभलको ल्याब हेटौडामा अहिलेसम्म नभएकोले यसको स्थापनाले स्थानीयवासीलाई ठूलो सहयोग पुग्नेछ।” उहाले सुविधा सम्पन्न ल्याब सञ्चालन गर्ने सञ्चालक टिमलाई धन्यवाद दिँदै सेवाग्राहीहरूलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न आग्रह गर्नु भयो।
हेटौंडा नेपाल ल्याब हाउसले ओपीडी, ल्याब परीक्षण, अल्ट्रासाउन्ड, फार्मेसी, ईसीजी, एक्सरे लगायतका स्वास्थ्य सेवाहरू प्रदान गर्ने जनाएको छ। बेलप्रसाद खतिवडाको नेतृत्वमा रहेको टोलीले यस ल्याबलाई सञ्चालनमा ल्याएको हो।
सञ्चालक खतिवडाले भन्नुभयो, “मुख्य उद्देश्य मकवानपुरका सेवाग्राहीहरूलाई स्वास्थ्य परीक्षणका लागि चितवन वा अन्य ठाउँमा जानुपर्ने बाध्यताबाट मुक्त गराई हेटौडामै उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो।” उद्घाटन समारोहमा ल्याबले विशेष अफरहरू पनि सार्वजनिक गरेको छ, जसअनुसार ब्लड सुगर परीक्षण निःशुल्क गरिनेछ भने सम्पूर्ण शरीरको चेकअप (होल बडी चेकअप) मात्र ३ हजार रुपैयाँमा गर्न सकिनेछ।
ल्याबकी प्रबन्ध निर्देशक सुभिता बानियाका अनुसार उद्घाटनकै दिन ५० भन्दा बढी व्यक्तिहरूले ल्याबको सेवा लिइसकेका छन्। उहाले भन्नुभयो, “मकवानपुरका बासिन्दाहरूले हाम्रो ल्याबमाथि विश्वास गर्नुहुनेछ भन्ने कुरामा हामी आशावादी छौं। हामी स्वास्थ्य सेवामा निरन्तर सुधार गर्दै जानेछौं।”
उद्घाटन समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमा सहभागी अधिकांशले मकवानपुरमा यस्तो सुविधासम्पन्न ल्याब स्थापना हुनु स्वास्थ्य क्षेत्रमा सकारात्मक कदम भएको प्रतिक्रिया दिनुभएको छन्।

















