हेटौंडा / मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-८ स्थित भित्री सडकखण्डबाट लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित एकजना पक्राउ परेका छन्।
शुक्रबार राति करिब ८:२० बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा राजकुमार तामाङ नामका व्यक्तिलाई २ किलो ५३० ग्राम अफिम जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको हो। उनले ग ६ प ४५८४ नम्बरको मोटरसाइकलको लेग गार्डमा लुकाइछिपाई उक्त पदार्थ ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामु अरियालले जनकारी दिनुभयो।
पक्राउ परेका तामाङलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट आठ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको उहाको भनाइ रहेको छ। साथै, पक्राउ परेका व्यक्तिसँगै प्रयोग गरिएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
उहाका अनुसार लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन थप अनुसन्धान र निगरानी बढाइएको छ।

















